15/09/2026
मेरो हिसाबमा सात चुरो कुरा छन्, प्रधानमन्त्रीले बुझ्नुपर्ने राष्ट्र संघको महासभामा।
एक– सकेजति यसपटक आफूलाई अलि फरक ढंगले चिनाउने कोसिस गर्नुहोला, ताकि टाइम म्यागाजिनले फेरि केही लेख्दा हिपहप स्टार र कम उमेरका जस्ता हल्का विशेषणहरू मात्र लगाउन नपरोस्।
दुई– सकेजति दुनियाँका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा देशका प्रतिनिधिहरूसँग ‘इन्गेज’ गर्ने प्रयास गर्नुहोला। उनीहरूसँग सकेजति संवाद र संगत गर्न कोसिस गर्नुहोला। बरु एकदुई दिन समय थप्नुहोला। नेपालको संसदमा जस्तो फटाफट आएर, बोलेर, कसैसँग आँखा नजुधाई फटाफट फर्कन हतार नगर्नुहोला। मज्जाले आँखा जुधाएर औपचारिक/अनौपचारिक वार्ता/गफ गर्ने प्रयास गर्नुहोला। यसका लागि समय छुट्याउनुहोला।
तीन– अमेरिका, चीन, भारतजस्ता देशका राष्ट्रप्रमुख, सरकार प्रमुख वा सरकारका प्रभावशाली व्यक्तिहरूसँग निरन्तरको संवादका अनेक ढोकाहरू खोल्नमा सकेजति प्रयास गर्नुहोला।
चार– यस्ता मान्छे/सल्लाहकार वरिपरि लिएर हिँड्नुहोला, जसले तपाईंले जोसँग एक सेकेन्ड पनि भेट्नुहुन्छ, त्यो एक सेकेन्डको संवाद वा समयको पूर्णतः सेन्स पाओस्– भाषा र चेतका हिसाबले। यस्ता कोही मान्छे चाहिए भन्नुहोला– हामी नै सुझाव दिऊँला बरु। नेपाली नेताहरूले आजसम्म गरेको सबैभन्दा ठुलो गल्ती यो पनि हो कि उनीहरूले आफ्नो वरिपरि सही मान्छे लिएर हिँडेनन्। समयलाई पनि हल्का लिए, ठाउँलाई पनि हल्का लिए। यो गल्ती नगर्नुहोला। साथी र सल्लाहकार दुई फरक चिज हुन्।
पाँच– नेपालजस्तै विकासोन्मुख देशका राष्ट्र तथा सरकार प्रमुख वा प्रतिनिधिहरूको ध्यान खिच्ने वा आफ्ना मुद्दा वा विषयहरूमा एकत्रित गर्ने प्रयास गर्नुहोला। कमसेकम उनीहरूसँग भ्याएसम्म बसेर गफिनुहोला।
छ– आउँदै त हुनुहुन्छ, मिल्छ भने अमेरिकामा रहेका एक हजार जति एकसे एक नेपालीका नाम संकलन गर्न लगाउनुहोला राजनीतिभन्दा माथि उठेर। उनीहरूसँग दुई घण्टाको समय बिताउनुहोला, उनीहरूका कुरा सुन्नुहोला, आफ्ना कुरा पनि सुनाउनुहोला।
सात– नेपाली मिडियासँग प्रधानमन्त्रीको के समस्या हो, मलाई थाहा छैन। यदि कुनै विख्यात मिडियासँग अन्तरसंवादको मौका आए, त्यसलाई स्वीकार्नुहोला, उनीहरूले नखोजे आफ्ना मान्छेहरूमार्फत यो मौकाको खोजी गर्नुहोला। तर बोल्ने विषयको तयारी चाहिँ चाहिन्छ है।
अहिलेलाई यति सात चिज गरे पुग्छ।
यसका प्रभाव र परिणामहरू क्रमशः पछिसम्म देखिनेछन्।
पाठकहरूलाई यो चाहिँ भनिदिऊँ– यी सातै चिज होलान् भन्ने आश मलाई छैन।
ती सात चिज नभए पनि दोहोर्याएर भन्छु– राजा महेन्द्र जस्तो देखिने र ठाउँका ठाउँ क्षतिपूर्ति झार्ने कसैको लहडी सल्लाहको चक्करमा चाहिँ नपर्नुहोला।
कुनै निश्चित उमेर समूहले उचालेर घरभित्र दलिनमा टाउको ठोक्किने गरी उचालिएजस्तो सरल छैन कूटनीतिक दुनियाँमा उचालिन।