29/12/2025
नेपाल विस्तारै सहरीकरण उन्मुख हुँदै छ। शहर मात्र होइन, साना बजार र गाउँसमेत अहिले नयाँ जीवनशैलीतर्फ ढल्किँदैछन्। पहिले केवल ठूला शहरका व्यस्त सडक वा विशेष ठाउँमा मात्र सीमित देखिने बेकरी र फास्टफूड पसलहरू, आज साना सहर, उपनगरदेखि ग्रामीण क्षेत्रसम्म विस्तार हुन थालेका छन्। बिहानको खाजा, दिउँसोको छिटो लन्च वा बेलुकाको हल्का खानाका लागि सहज विकल्पका रूपमा यो व्यवसायले लोकप्रियता पाइरहेको छ।
सस्तो मूल्य, सजिलो उपलब्धता र स्वादमा विविधताले गर्दा बेकरी तथा फास्टफूड अब केवल ‘फ्यासन’ नभई, आधुनिक जीवनशैलीको आवश्यकता बन्न थालेको छ। कामकाजी वर्ग, विद्यार्थीदेखि घरपरिवारसम्मका लागि छिटो खान सकिने, सजिलै बोक्न मिल्ने र समय बचत हुने कारणले यसको माग हरेक दिन बढिरहेको छ। यही कारणले अहिले उद्यमशील युवाहरूलाई आकर्षित गर्ने, कम लगानीमै सुरु गर्न सकिने र छिटो नाफा दिने व्यवसायका रूपमा यो क्षेत्र चर्चा कमाइरहेको छ।
🔴 कसरी सुरु गर्ने?
प्रारम्भमा सिप र रुचि नै मुख्य पुँजी। घरमै केक, कुकी, स्न्याक्स वा म:म, चौमिन, समोसा, बर्गर जस्ता परिकार बनाउन सकिन्छ।
‘बेकिङ क्लास’ वा छोटो तालिम लिएर सीप बढाउन सकिन्छ।
जम्मा १–२ लाखको लगानीमा ओभन, सामग्री, प्याकेजिङ्ग र प्रचार जुटाउन सकिन्छ।
ग्राहक पाउन स्कूल, अफिस वा मेलामा स्टल राख्ने वा होम डेलिभरी सेवा सुरु गर्न सकिन्छ।
फेसबुक, टिकटक, इन्स्टाग्राममा आकर्षक तस्बिर पोस्ट गरेर बजार विस्तार गर्न सकिन्छ।
ग्राहकको प्रतिक्रिया अनुसार स्वाद र परिकारमा मौलिकता थप्दा विश्वास बढ्छ।
🔴 बजारको सम्भावना
▪️बाहिर खाने बानी तीव्र बढिरहेको छ, जसले निरन्तर माग सिर्जना गरेको छ।
▪️युवा, विद्यार्थी र कामकाजी वर्ग मुख्य ग्राहक हुन्।
▪️फूड डेलिभरी एप्स (Foodmandu, Bhoj) प्रयोग गरेर व्यापार छिटो विस्तार गर्न सकिन्छ।
▪️बर्थडे, पार्टी र विशेष अवसरका लागि ‘कस्टमाइज्ड केक’ को माग उच्च छ।
🔴 किन आकर्षक व्यवसाय?
▪️न्यून लगानी, छिटो नाफा।
▪️घरमै वा सानो स्पेसबाट सुरु गर्न सकिने लचिलोपन।
▪️माउथ–टु–माउथ प्रचारले बजार छिट्टै बढ्ने सम्भावना।
▪️सिप, स्वाद र ग्राहक सन्तुष्टिले नै सफलता निर्धारण गर्ने।
▪️मौसम र ट्रेन्डअनुसार नयाँ मेनु थपेर व्यवसायलाई ताजा राख्न सकिने।